नियम ६४
मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदन
(१) उच्च अदालतले कुनै मुद्दामा गरेको फैसला न्याय प्रशासन ऐन, २०७३ को दफा १२ मा उल्लिखित आधारमा दोहोर्‍याई हेरी पाउँ भनी निवेदन दिन चाहने व्यक्तिले स्पष्ट बुझिने सुरु र उच्च अदालतको फैसलाको प्रमाणित नक्कल तथा मुद्दा दोहोर्‍याई पाउन लिएका जिकिर समर्थन गर्ने प्रमाण कागजातको प्रतिलिपि संलग्न गरी अनुसूची–७ बमोजिमको ढाँचामा अनुसूची–३ बमोजिमको दस्तुरसहित सम्बन्धित अधिकारी समक्ष निवेदन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दिने निवेदनमा नियम १३ मा उल्लेखित कुराका अतिरिक्त मुद्दा दोहोर्‍याउने स्पष्ट आधार उल्लेख गर्नु पर्नेछ ।
(३)  मुद्दा दोहोर्‍याई पाउँ भन्ने निवेदनउपर सुनुवाइ गर्दा निवेदकको माग बमोजिम फैसला दोहोर्‍याई हेरी दिनु पर्ने देखिएमा इजलासले सोको कारण खुलाई मुद्दा दोहोर्‍याई हेर्ने अनुमति दिने आदेश गर्नेछ ।
(४) उपनियम (३) बमोजिम आदेश भएमा अदालतले निवेदकलाई अदालतले मुद्दा दोहोर्‍याई हेरी दिए बापत लाग्ने कानून बमोजिमको कोर्ट फी, पुनरावेदन दस्तुर र प्रत्यर्थीका नाममा सूचना जारी गर्न प्रत्येक व्यक्ति पिच्छे दश रुपैंयाँका दरले आवश्यक दस्तुर दाखिला गर्न    लगाउनेछ ।
(५) निवेदकले उपनियम (४) बमोजिमको कोर्ट फी, अनुसूची–३ बमोजिमको दस्तुर र सूचना बापतको दस्तुर दाखिला गरेमा दोहोर्‍याई हेरी पाउँ भन्ने निवेदनलाई पुनरावेदन सरह दर्ता गरिनेछ । त्यसरी दर्ता गर्दा सो पुनरावेदन दोहोर्‍याई पाउँ भन्ने निवेदनको रोहबाट दर्ता हुन आएको हो भन्ने चिनिने गरी छुट्टै सङ्केत नम्बर दिनु पर्नेछ ।
(६) उपनियम (३) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने अनुमति प्रदान गर्ने आदेश भएमा अदालतले सोको जानकारी सम्बन्धित जिल्ला अदालतलाई दिनु पर्नेछ ।